नेताको चाकडी नगर्न कर्मचारीहरुलाई गृहमन्त्री गुरुङको चेतावनी
काठमाडौँ। गृहमन्त्री सुदन गुरुङले राष्ट्रसेवक कर्मचारीको काम कुनै राजनीतिक दलको झोला बोक्ने वा नेताको चाकडी गर्ने नभई देश र जनताको सेवा गर्ने भएको बताएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै गृहमन्त्री गुरुङले सरकारमा आएदेखि नै कर्मचारीको जिम्मेवारीबारे स्पष्ट धारणा राख्दै आएको उल्लेख गर्दै उनले नेता र कर्मचारी सबैको साझा उद्देश्य देशप्रति समर्पित भएर जनताको सेवा गर्नु हुनुपर्ने बताएका छन् ।
पदीय जिम्मेवारी बिर्सेर जनताको कामभन्दा नेताको चाकडीलाई प्राथमिकता दिने कर्मचारीमाथि कानुनअनुसार कडा कारबाही गरिने उनले चेतावनी दिएका छन् । दलको झोला बोकेर राजनीति गर्न पाइन्छ भन्ने भ्रम कसैले पालेको भए त्याग्नुपर्ने उनको भनाइ छ ।
गृहमन्त्री गुरुङले सरकारलाई नेताको चाकडी गर्ने नभई जनताको दुःख बुझ्ने, कर्तव्य पूरा गर्ने र देशप्रति इमानदार राष्ट्रसेवक कर्मचारी आवश्यक रहेको बताएका छन्। उनले यस विषयमा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन् ।
Shares