ग्लोबल आइएमई बैंकको दुई दशक यात्रा पूरा : वित्तीय प्रगतिसँगै ग्राहक सेवामा निरन्तर उत्कृष्ट

अर्थकागज
प्रकाशित: १२ असोज २०८३
Image description

काठमाडौं । नेपालको अग्रणी बैंक ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको दुई दशक यात्रा पूरा गरेको छ । बैंकको २०औँ वार्षिक साधारणसभा यही १६ असोज २०८३ मा काठमाडौंमा आयोजना हुँदैछ । 

बैंकले सफलताको पूरापुर दुई दशकको व्यावसायिक यात्रा पूरा गर्दैगर्दा वित्तीय आकार, ग्राहक सेवा तथा सेवाग्राही संख्याको आधार, बैंकिङ सेवा सञ्जाल, डिजिटल क्षमता तथा व्यवसायिक पहुँच विस्तार गर्दै आफ्नो उपस्थिति थप मजबुत र गर्विलो बनाएको छ ।

उसो त व्यवसायिक यात्राका क्रममा बैंकले यस्ता धेरै आरोह अवरोह पार गर्दै अहिलेको गर्विलो र नेपालकै अग्रणी बैंकको रुपमा ग्लोबल आईएमई बैंक स्थापित बन्न सफल भएको हो ।

२० वर्षे यात्राका क्रममा ग्लोबल आईएमई बैंकले साना तथा ठूला गरी झण्डै दुई दर्जन बैंक तथा वित्तीय संस्थाहरुलाई आफूमा गाभ्दै, समाहित गर्दै अहिलेको विशाल बैंक बन्न सफल भएको हो । जनता बैंक लिमिटेड र बैंक अफ काठमाडौं दुई ठूला वाणिज्य बैंकहरुलाई मर्जरमा ल्याउन सक्नु बैंकको ठूलो उपलब्धी हो ।

पछिल्लो रिपोर्ट अनुसार बैंकको कुल चुक्ता पुँजी ३८ अर्ब ११ करोड ६० लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म बैंकको कुल निक्षेप ७ खर्ब ४४ करोड रुपैयाँ बराबर पुगेको छ भने कूल कर्जा प्रवाह -लगानी) ४ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ ।

नाफाकै कुरा गर्ने हो भने पनि गत आर्थिक वर्ष २०८२/८३ मा मात्र बैंकले ६ अर्ब ३ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशतले बढी हो । ग्राहक सेवामा मात्र होइन बैंकको नाफामा समेत आकर्षक वृद्धि हुँदैगर्दा बैंकले शेयरधनी लगानीकर्ताहरुलाई समेत राम्रो लाभांश दिन सक्षम छ ।

१० प्रतिशत लाभांश वितरण गर्दै

आसन्न २०औँ वार्षिक साधारणसभाकै सवालमा बैंकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ । प्रस्तावअनुसार ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर वितरण गरिने छ । साधारणसभाबाट प्रस्ताव स्वीकृत भएपछि शेयरधनीहरुमा लाभांश वितरण हुनेछ । 

यता प्रस्तावित ४ प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३९ अर्ब ६४ करोड रुपैयाँ बराबर पुग्ने बैंकले जनाएको छ । यसले अझ बैंकको क्षमता बढ्नेछ ।

ग्लोबल आईएमई बैंकले स्थापनादेखि हालसम्म नगद लाभांश र बोनस शेयरमार्फत शेयरधनीलाई प्रतिफल दिँदै आएको छ । बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को प्रस्तावित लाभांशबाहेक हालसम्म प्रतिशेयर २३६ रुपैयाँ १२ पैसा बराबरको नगद तथा बोनस शेयर लाभांश वितरण गरिसकेको छ ।

यसमा प्रतिशेयर ७९ रुपैयाँ २० पैसा नगद लाभांश र १५६ रुपैयाँ ९२ पैसा बराबरको बोनस शेयर रहेको बैंकले जनाएको छ । बोनस शेयरमार्फत भएको पुँजी विस्तारले शेयरधनीको स्वामित्व पुँजी थप विस्तार गर्न सहयोग पुगेको बैंकको भनाइ छ ।

पुँजी वृद्धिसँगै व्यवसाय र प्रविधिमा बैंकको गुणात्मक फड्को

बैंकले आफ्नो सफल दुई दशकको यात्रामा पुँजी वृद्धिसँगै व्यवसाय विस्तार र नविनतम् प्रविधिको सेवामा समेत गुणात्मक फड्को मारेको छ । बैंकले पछिल्लो समय डिजिटल बैंकिङ, सेवा सञ्जाल र जोखिम व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्दै आएको छ ।

सुदृढ पुँजी आधारलाई व्यवसाय विस्तार, कर्जाको गुणस्तर, जोखिम व्यवस्थापन र शेयरधनीको प्रतिफलबीच सन्तुलन कायम गर्ने आधारका रूपमा बैंकले लिएको जनाएको छ । 

आगामी दिनमा पनि व्यवसाय विस्तारसँगै शेयरधनीका लागि दीर्घकालीन र दिगो प्रतिफल सिर्जनालाई प्राथमिकतामा राख्ने बैंकको रणनीति छ । 

त्यसो त बैंकले आफ्नो दुई दशकको अनुभव, सुदृढ वित्तीय आधार, विस्तारित सेवा सञ्जाल, डिजिटल रूपान्तरण तथा जोखिम व्यवस्थापनलाई आधार बनाएर बैंकले थप आगामी यात्रालाई विशेष र सफल बनाउने प्रतिबद्धता जनाएको छ ।

१ हजारभन्दा बढी सेवा केन्द्र

ग्राहक सेवालाई विशेष प्राथमिकता दिँदै सहज, सुलभ र प्रविधिमैत्री बनाइरहेको बैंकले दुई दशकको अवधिमा आफ्नो सेवा सञ्जाललाई देशव्यापी बनाएको छ । हाल बैंकका देशभर ३४१ शाखा, ३६६ एटीएम, १४१ शाखारहित बैंकिङ सेवासहित ६९ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर सञ्चालनमा छन् ।

स्वदेशमा मात्र होइन, विदेशमा समेत आफ्नो शाखा कार्यालय तथा सेवा केन्द्र खोली सेवा प्रवाहमा लागिपरेको ग्लोबल आईएमई बैंकले विदेशमा समेत तीनवटा प्रतिनिधि कार्यालय खोली सेवा प्रवाह गरिरहेको छ । अष्ट्रेलियाको सिड्नी, संयुक्त अधिराज्य बेलायत -लण्डन) र छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्लीमा ग्लोबल आईएमईका प्रतिनिधि काउन्टरहरु सञ्चालनमा रहेका छन् । खासगरी यी स्थानहरुबाट नेपाल रेमिट्यान्स भित्र्याउन ठूलो भूमिका खेलिरहेको छ । यसले मुलुकको अर्थतन्त्र बलियो बनाउन सहज भइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर