अपि पावरको खुद नाफामा ८६ प्रतिशतको छलाङ्ग, विद्युत बिक्री र खर्च कटौतीले सुधारियो वित्तीय अवस्था

अर्थकागज
प्रकाशित: २८ वैशाख २०८३
Image description

काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा उल्लेख्य सुधार भएको जनाएको छ ।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा अघिल्लो वर्षको तुलनामा ८६.३० प्रतिशतले वृद्धि भई ६५ करोड ८५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३५ करोड ३४ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको आम्दानीका स्रोतहरू सबल बन्दा र खर्च व्यवस्थापन प्रभावकारी हुँदा नाफामा उछाल देखिएको हो। विवरण अनुसार, कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी १ अर्ब १९ करोडबाट बढेर १ अर्ब ३० करोड पुगेको छ । आम्दानी वृद्धिसँगै कम्पनीको सञ्चालन मुनाफा पनि ८७ करोड ७६ लाखबाट वृद्धि भई १ अर्ब ८ करोड रुपैयाँ कायम भएको छ ।

वित्तीय विवरणको अर्को सुखद पक्ष कम्पनीको खर्च कटौती देखिएको छ। अघिल्लो वर्ष ४५ करोड ८८ लाख रुपैयाँ रहेको ब्याज खर्च यस वर्ष घटेर ३१ करोड ८५ लाखमा झरेको छ भने प्रशासनिक खर्च पनि ३ करोड २७ लाखबाट घटेर २ करोड ३४ लाखमा सीमित भएको छ। मुख्य रूपमा विद्युत बिक्रीको आम्दानी बढ्नुका साथै ब्याज र प्रशासनिक खर्चमा आएको गिरावटका कारण खुद नाफामा सकारात्मक असर परेको देखिन्छ ।

हाल ६ अर्ब ३७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको अपि पावरको जगेडा कोष (रिटेन अर्निङ) मा ९७ करोड ७६ लाख रुपैयाँ सञ्चित छ। यसैगरी, कम्पनीको वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी (ईपीएस) १३.७६ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ ११५.३२ रुपैयाँ रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर