उदयपुरमा एमबुलेन्सको भाडादर निर्धारण
माधव पोखरेल
उदयपुर । उदयपुर जिल्लाका एम्बलेन्स संचालकहरुले पहिले निर्धारण गरेको भाडादरमा एम्बुलेन्स सेवा संचालन नगरी आफू खुसी रुपले भाडा लिन थालेपछि अहिले भाडामा एकरुपता ल्याउन भाडादर निर्धारण गरिएको छ ।
एम्बुलेन्स सञ्चालकले तेलको मूल्यवृद्धि लगायतका कारण देखाउँदै मनपरी भाडा असुल्न थालेको जनगुनासो बढेपछि उदयपुरमा एम्बुलेन्सको भाडादरमा एकरूपता कायम गरिएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले जिल्लाभित्र सञ्चालनमा रहेका एम्बुलेन्सका लागि गन्तव्य र दूरीका आधारमा नयाँ भाडादर निर्धारण गरेको हो ।
प्रमुख जिल्ला अधिकारी मेख बहादुर मग्रातीको अध्यक्षतामा बसेको समितिको बैठकले सडकको अवस्था, बढ्दो सञ्चालन खर्च र सेवाग्राहीबाट प्राप्त गुनासोलाई आधार बनाएर भाडा समायोजन गरेको जनाएको छ । अब एम्बुलेन्स सञ्चालकले समितिले तोकेको दरभन्दा बढी रकम लिन नपाउने भएका छन् ।
स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी चिरञ्जीवी निरौलाका अनुसार एम्बुलेन्सले बिरामी ओसारपसार गरेबापत अनिवार्य रूपमा बिल वा रसिद उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । तोकिएकोभन्दा बढी भाडा असुल गरेको पाइएमा सम्बन्धित एम्बुलेन्स सञ्चालकमाथि कारबाही गरिने उनले बताए ।
जिल्ला स्वास्थ्य कार्यालयले सदरमुकाम गाईघाटस्थित उदयपुर अस्पताल र कटारीस्थित प्रादेशिक अस्पताललाई आधार बनाएर विभिन्न गन्तव्यका लागि छुट्टाछुट्टै भाडादर निर्धारण गरेको छ । नयाँ दरअनुसार गाईघाटबाट धरान, इटहरी र विराटनगरसम्म एम्बुलेन्स भाडा ६ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, गाईघाटबाट राजविराजका लागि ४ हजार, जनकपुरका लागि ७ हजार र काठमाडौंका लागि १७ हजार ५ सय रुपैयाँ भाडा निर्धारण गरिएको छ । अन्य गन्तव्यका लागि भने दूरी तथा सडकको अवस्थालाई आधार बनाएर भाडादर कायम गरिएको समितिले जनाएको छ ।
एम्बुलेन्सले मनपरी भाडा लिने गरेको गुनासो बढेपछि कोशी प्रदेश सरकार तथा स्वास्थ्य मन्त्रालयबाट जिल्लामा एम्बुलेन्सको भाडादर समायोजन गर्न निर्देशन आएको थियो । सोही निर्देशनका आधारमा जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले नयाँ भाडादर निर्धारण गरी लागू गरेको सूचना अधिकारी निरौलाले बताए । समितिले तोकिएको भाडादरअनुसार मात्र सेवाग्राहीबाट रकम लिन एम्बुलेन्स सञ्चालकलाई निर्देशन दिएको छ ।
सेवाग्राहीसँग बढी रकम असुल गरेको प्रमाणित भएमा सम्बन्धितलाई कारबाही गरिने चेतावनीसमेत दिइएको छ । समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी मेखबहादुर मगरातीको अध्यक्षतामा बसेको बैठकमा सुरक्षा निकायका प्रमुख, ट्राफिक प्रहरी, एम्बुलेन्स सञ्चालक तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो । बैठकले एम्बुलेन्सको भाडादरलाई समय अनुकूल बनाउन हरेक वर्ष पुनरावलोकन गर्ने निर्णयसमेत गरेको छ । यसबाट इन्धन तथा सञ्चालन खर्चमा हुने परिवर्तनअनुसार भाडादर समायोजन गर्न सकिने समितिले जनाएको छ ।
Shares