NIC ASIA इक्वीटी अपोर्चुनिटी फण्डको इकाईमा ३ कार्य दिनमा नै माग भन्दा बढीको आवेदन

अर्थकागज
प्रकाशित: १२ असोज २०८३
Image description

काठमाडौं । एनआईसी एशिया क्यापिटलले असोज ७ गतेदेखि निष्काशन गरेको एनआईसी एशिया इक्विटी अपुर्चुनीटी फण्डको इकाईमा ३ कार्य दिनमै माग भन्दा बढीको आवेदन परेको छ । माग भन्दा बढीको आवेदन परेसंगै असोज १३ गते यस फण्डको बिक्री बन्द गरिने भएको छ ।

क्यापिटलका अनुसार एन आई सी एशिया इक्वीटी अपोर्चुनिटी फण्डमा आज असोज १२ गते साँझ ५ः०० बजेसम्म रु.८० करोड रकम भन्दा बढीको इकाई खरिदको लागि आवेदन परेको छ । स्वीकृत विवरण पुस्तिकामा रहेको व्यवस्था अनुसार उक्त एन आई सी एशिया इक्वीटी अपोर्चुनिटी फण्डको आकार रु.८० कारोडबाट बृद्धि गरी रु.१ अर्बसम्म कायम गर्न सकिने व्यवस्था छ ।

फण्ड अन्तर्गत १० रुपैयाँ प्रति इकाईका ८ करोड इकाई निष्काशन गरिएको हो। जस मध्ये १ करोड २० लाख इकाई एनआईसी एशिया बैंकलाई सुरक्षित् राखेर बाँकी रहेको ६ करोड ८० लाख इकाई आम सर्वसाधारणको लागि बिक्री गरिएको हो। यस निष्काशनमा आवेदन दिँदा न्युनतम १०० इकाई र अधिकतम १ करोड इकाईको लागि आवेदन दिन सकिने छ।

एन आई सी एशिया इक्वीटी अपोर्चुनिटी फण्ड दश वर्ष अवधि रहेको छैठौँ बन्दमुखी योजना हो । क्यापिटलका अनुसार योजनामा संकलित अधिकांश रकम धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गरिने छ । उक्त योजनामा संकलित रकम भविष्यमा राम्रो प्रतिफल दिन सक्ने र राम्रो ग्रोथ सम्भावन भएका कम्पनीहरुमा अध्ययन र अनुसन्धान गरी लगानी गरिनेछ ।

उक्त योजनाको इकाई खरीदका लागि नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र (परिचय पत्र) जारी भएका व्यक्ति, प्रचलित कानून बमोजिम दर्ता भएका नेपाली फर्म, संघ संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरु जस्तै सञ्चय कोष, कल्याणकारी कोष, गुठी, अक्षय कोष आदिले इकाई खरिद गर्न आवेदन दिन सक्ने छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर