एनसेलले बीवाईडी गाडीमा उपलब्ध गराउन लागेको आईओटी सिम’ के हो ?

अर्थकागज
प्रकाशित: ११ असोज २०८३
Image description

काठमाडौं । निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नेपालका लागि चिनियाँ विद्युतीय गाडी बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकसँग हालै एक सम्झौता गर्यो । सम्झौता अनुसार अब एनसेलले बीवाईडीका बिक्री हुने हरेक गाडीमा इन्टरनेट अफ थिंग्स (आईओटी) सिम उपलब्ध गराउने छ । 

योसँगै उपभोक्ताहरुमा, सरोकारवालाहरुमा दुईवटा प्रश्न वा जिज्ञासा पलाएको छ । पहिलो बीवाईडीलाई एनसेलले उपलब्ध गराउन लागेको आईओटी सिम के हो ? दोस्रो, यो सिम केका लागि उपलब्ध गराउन लागिएको हो र यसले कसरी काम गर्छ ? 

खासगरी चिनियाँ ईभी बीवाईडीका हरेक गाडीमा चिनियाँ सिमको प्रयोग हुने गरेको र यो नेपालका लागि अति संवेदनशील विषय रहेको समाचा तथा चर्चा परिचर्चा भइराखेकै विषय हो । तर, कम्पनीले फेरि किन एनसेलको सिम प्रयोग गर्न लाग्यो ? जिज्ञासाको विषय हो । 

तर, यता कम्पनीले उपभोक्ताहरुलाई थप सुविधा दिनकै लागि एनसेलको सिम गाडीमा उपलब्ध गराउन लागिएको दाबी गरेको छ । 

के हो आईओटी सिम ?

आईओटी सिम के हो ? भन्दा पनि पहिला यो सिम केका लागि डिजाइन गरिएको हो, र यसले के कसरी काम गर्छ ? भन्ने कुरा महत्वपूर्ण छ । इन्टरनेट अफ थिंग्स अर्थात् आईओटी उपकरणहरूका लागि डिजाइन गरिएको एक प्रकारको सिम कार्ड हो । यसले प्राविधिक उपकरणहरुलाई एकअर्कासँग लिंक गर्न र इन्टरनेटसँग जोडिन वा सञ्चार गर्न मद्दत गर्दछ ।

बीवाईडी जस्ता विद्युतीय गाडीहरुका लागि त आईओटी सिम बहु उपयोगी नै हुन्छ । किनकी विद्युतीय गाडीमा बढीनै प्रविधिको प्रयोग गरिएको हुन्छ । यस्तो अवस्थामा आईओटी सिममार्फत इन्टरकनेक्सन, इन्टरनेटको सुविधा र कमान्डका लागि निकैनै सहज हुन्छ । यसैले कम्पनीले एनसेलसँग सहमति गरेर आफ्ना गाडीहरुमा आईओटी सिम उपलब्ध गराउने भएको हो । यसले उपभोक्ताहरुमा थप सुविधा प्रदान गर्ने कम्पनीको दाबी छ । 

तर कसरी ?

जब गाडीमा आईओटी सिम जडान हुन्छ तब यसले अन्य कुनै उपकरणको प्रयोग बिनै इन–भेइकल इन्टरनेट कनेक्टिभिटीको सेवा उपलब्ध गराउँछ । जसले बीवाईडी एप इकोसिस्टम र कनेक्टेड इन्फोटेनमेन्ट सुविधाहरूलाई सपोर्ट गर्छ । 

‘प्रयोगकर्ताहरूले फोन कनेक्ट नगरी वा वाई–फाई हटस्पटमा निर्भर नभई सवारी साधनको सिस्टमबाटै युट्युब, स्पोटिफाइ, काराओके लगायतका अनलाइन सेवा र डिजिटल मनोरञ्जन लिन सक्नेछन् । यद्यपि, सुविधाहरूको उपलब्धता सवारी साधन, सफ्टवेयर मोडल र नेपालमा उपलब्ध रहेका सेवाहरूमा निर्भर हुनेछ ।

थप आईओटी सिममार्फत एनसेलको देशैभर फैलिएको नेटवर्क कभरेजको लाभ ग्राहकहरूले उठाउन सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरूले आफ्नो फोनमा एनसेल नेटवर्क चलाउँदा जस्तै प्रयोगकर्ताको अनुभव कभरेज, स्थान र सवारी साधन कन्फ्युग्रेसन अनुसार फरक बन्न सक्छ ।

‘स्मार्ट कनेक्टिभिटी, इन्फोटेनमेन्ट, सुरक्षा र इन्टेलिजेन्ट मोबिलिटीको सुविधा दिन्छ, जसले गर्दा ग्राहकहरूले आईओटी सोलुसन्स मार्फत अझ सहज र सुविधाजनक कनेक्टेड ड्राइभिङ अनुभव लिन सक्छन्’ एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने । 

बीवाईडी एप र लोकप्रिय इन्फोटेनमेन्ट सेवाहरूका लागि प्रत्यक्ष सवारी कनेक्टिभिटी उपलब्ध गराएर प्रयोगकर्ताहरूलाई बाह्य हटस्पट वा मोबाइल डेटामा निर्भर नभई कनेक्टेड रहन मद्दत गर्ने कम्पनीको उद्देश्य रहेको दत्ताको भनाइ छ । 

साथै, लोकल नेटवर्कमा कनेक्ट हुँदा गाडी बाटोमा होस् वा ट्राफिकमा अड्किएको अवस्थामा होस्, यसबाट थप भरपर्दो नेभिगेसन सुनिश्चित गर्ने उनको दाबी छ । गाडी कहाँ छ र कस्तो अवस्थामा छ भनी गाडी ट्रयाकिङ गर्न समेत आईओटी सिमले राम्रो काम गर्छ ।

आईओटी सिमका विशेषता र प्रयोग

आईओटी सिम उच्च तापक्रम, चिसो वा कम्पन हुने ठाउँहरूमा पनि बिग्रँदैन । यो सिम साधारण सिमभन्दा बढी बलियो र टिकाउ हुन्छ ।

यस्तै, रिमोट कन्ट्रोल यसको अर्को महत्वपूर्ण विशेषता हो । यसलाई टाढैबाट रिमोटली एक्टिभेट, डिएक्टिभेट वा डाटा प्लानहरू परिवर्तन गर्न सकिन्छ, जुन सुविधा गाडीहरुका लागि अझ बढी उपयोगी र महत्वपूर्ण छ । 

अझ महत्वपूर्ण पक्ष आईओटी सिम ग्लोबल रोमिङ सुविधामा उपलब्ध हुन्छ । धेरैजसो आईओटी सिमहरूले संसारभरिका विभिन्न नेटवर्कहरूमा बिना कुनै झन्झट काम गर्न सक्छ । अहिले बीवाईडीका गाडीहरुमा प्रयोग भएको भनिएको चिनियाँ सिमको विशेषता यही ग्लोबल रोमिङको सुविधा हो । अब एनसेलले यो सुविधा हरेक बीवाईडी गाडीमा उपलब्ध गराउनेछ । 

यद्यपि, यस्तो आईओटी सिमको प्रयोग केबल गाडीमा मात्र नभएर अन्य विद्युतीय उपकरणहरुमा पनि प्रयोग हुन्छन् । जस्तो, स्मार्ट चिम, रेफ्रिजिरेटर, सीसीक्यामेरा, स्मार्ट मिटर, बिजुली वा पानीको खपत आफैं मापन गर्ने मिटरहरूमा आईओटी सिमको प्रयोग हुन्छ ।

यस्तै, स्वास्थ्य क्षेत्रमा बिरामीको स्वास्थ्य अवस्था टाढैबाट निगरानी गर्ने मेडिकल उपकरणहरू र कृषि क्षेत्रमा माटोको ओसिलोपना वा मौसमको जानकारी लिन समेत सेन्सरहरूमा आईओटी सिमको प्रयोग गर्ने गरिन्छ ।

जे होस् आईओसी सिम प्रयोगसम्बन्धी सेवामा एनसेल र बीवाईडीको समझदारीले प्रविधिको प्रयोगसँगै उपभोक्ताहरुमा थप सुविधा पुग्ने विश्वास छ । 

यस सहकार्यले नेपालमा आईओटी नवप्रवर्तनको क्षेत्रमा एनसेलको अग्रणी स्थानलाई थप सुदृढ बनाएको छ । यसलाई अवलम्बन गर्दै, एनसेलले विभिन्न क्षेत्रमा कनेक्टेड प्रविधिको प्रयोगलाई थप प्रवद्र्धन गर्ने प्रतिबद्धतालाई समेत निरन्तरता दिएको एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताको भनाइ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर