नेपाल टेलिकमको खुद नाफा ३.३५ प्रतिशतले वृद्धि

अर्थकागज
प्रकाशित: ३० वैशाख २०८१
Image description

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । टेलिकमको नाफा गत वर्ष यसैअवधिको तुलनामा ३.३५ प्रतिशतले ले धेरै हो । गत वर्ष यसले ५ अर्ब ४१ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यता, चैतसम्म आइपुग्दा कम्पनीको सञ्चालन आम्दानी भने घट्न पुगेको छ । गत वर्ष २७ अर्ब ३४ करोड रुपैयाँ सञ्चालग आम्दानी गरेको कम्पनीको अहिले घने घटेर २५ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ । त्यसैगरी, वित्तीय आम्दानी पनि ५ अर्ब ७० करोडबाट घटेर ५ अर्ब १८ करोड रुपैयाँमा झरेको छ ।

टेलिकमको अन्य श्रोतबाट हुने आम्दानी भने १६ करोड ११ लाखबाट बढेर ५३ करोड पुगेको छ । यसले गर्दा नाफा बढ्न टेवा पुगेको छ । हाल यसको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । टेलिकमको रिजर्भ कोषमा ७४ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।

यता, कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । गत वर्ष ४० रुपैयाँ ९ पैसा रहेको यसको प्रतिसेयर आम्दानी अहिले बढेर ४१ रुपैयाँ ४४ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने ५१२ रुपैयाँ ९९ पैसा रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर