इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त

अर्थकागज
प्रकाशित: ११ असोज २०८३
Image description

काठमाडौँ । नेपालको भुक्तानी सेवा प्रदायक इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा नियुक्त भएका छन् ।

इसेवा सञ्चालक समितिको भदौ ३० गते बसेको बैठकले असोज १२ गतेदेखि लागू हुने गरी शर्मालाई चार वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो। शर्माले आजदेखि इसेवाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका छन् ।

बैंकिङ तथा वित्तीय क्षेत्रमा २५ वर्षभन्दा बढीको नेतृत्वदायी अनुभव भएका शर्मा ट्रान्जेक्सन बैंकिङ, कार्ड प्रणाली, डिजिटल रूपान्तरण तथा रिटेल बैंकिङका क्षेत्रमा अनुभवी छन्। डिजिटल नवप्रवर्तन, रणनीतिक वृद्धि, ग्राहककेन्द्रित सेवा विकास, टोली नेतृत्व तथा संस्थागत रूपान्तरणमा समेत उनको अनुभव रहेको इसेवाले जनाएको छ ।

बैंकिङ तथा डिजिटल वित्तीय सेवाको क्षेत्रमा लामो अनुभव भएका शर्माको नेतृत्वले इसेवाको आगामी रणनीतिक प्राथमिकतालाई अघि बढाउन सहयोग पुग्ने अपेक्षा कम्पनीले गरेको छ। बदलिँदो ग्राहक आवश्यकता र डिजिटल वित्तीय सेवाको विस्तारसँगै कम्पनीको सेवा तथा पहुँचलाई थप सुदृढ बनाउन उनको नेतृत्व महत्वपूर्ण हुने इसेवा सञ्चालक समितिले जनाएको छ।

जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा

इसेवाका निवर्तमान प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा भएको छ। खड्का २०७९ असोज १२ गते इसेवाको सीईओमा नियुक्त भएका थिए । खड्काको कार्यकालमा इसेवाले सेवा, पहुँच तथा डिजिटल वित्तीय सेवाको दायरा विस्तार गरेको कम्पनीले जनाएको छ। उनको नेतृत्वमा इसेवामा दर्ता भएका प्रयोगकर्ताको संख्या १ करोड ४० लाखभन्दा बढी र मर्चेन्टको संख्या ६ लाखभन्दा बढी पुगेको छ।

उनको कार्यकालमा डिजिटल कर्जा, फाइनान्स ३६०, इसेवा सर्कल, बिजनेस लिङ्क, बिजनेस एप, इन्टेन्ट पे, क्यालेन्डर तथा इभेन्ट सेवा, इन्सुरेन्स प्रडक्टलगायत विभिन्न डिजिटल सेवा र फिचर विस्तार भएका छन्।

दृष्टिविहीन नागरिकका लागि ‘टकब्याक’ फिचर तथा नेपाली भाषामा एप सञ्चालनमार्फत वित्तीय सेवालाई थप पहुँचयोग्य बनाइएको कम्पनीले जनाएको छ। खड्काको नेतृत्वमा डिजिटल भुक्तानी, वित्तीय व्यवस्थापन, समावेशी वित्तीय पहुँच र ग्राहककेन्द्रित नवप्रवर्तनमा काम भएको इसेवाको भनाइ छ।

इसेवाले खड्काको नेतृत्वमा हासिल भएका उपलब्धिले कम्पनीको आगामी यात्राका लागि आधार तयार गरेको जनाएको छ। कम्पनीले उनको आगामी व्यावसायिक तथा व्यक्तिगत जीवनका लागि शुभकामना व्यक्त गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर