इरानको परमाणु कार्यक्रमसँग जोडिएका विवाद के के छन् ?
काठमाडौं । इरानको परमाणु कार्यक्रम विगत धेरै दशकदेखि अन्तर्राष्ट्रिय राजनीतिमा प्रमुख विवादको विषय बन्दै आएको छ । इरानले आफ्नो परमाणु कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण उद्देश्यका लागि रहेको दाबी गर्दै आएको भए पनि अमेरिका र इजरायलले त्यसलाई स्वीकार गरेका छैनन् ।
अमेरिका र इजरायलको आरोप अनुसार इरानले परमाणु हतियार निर्माण गर्ने प्रयास गरिरहेको छ। यही विषयलाई लिएर अन्तर्राष्ट्रिय समुदायमा लामो समयदेखि तनाव कायम छ ।
सन् २०१५ मा भएको परमाणु सम्झौता अनुसार इरानले युरेनियम प्रशोधनको स्तर ३.६७ प्रतिशतसम्म मात्र सीमित राख्न सहमति जनाएको थियो । ३.६७ प्रतिशत प्रशोधित युरेनियम परमाणु विद्युत् उत्पादन केन्द्रका लागि इन्धनका रूपमा प्रयोग गर्न सकिन्छ । सामान्यतया परमाणु हतियार निर्माणका लागि भने ९० प्रतिशत वा सोभन्दा बढी प्रशोधित युरेनियम आवश्यक पर्ने बताइन्छ । सन् २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई सन् २०१५ को परमाणु सम्झौताबाट बाहिर निकालेका थिए । त्यसपछि इरानले क्रमशः युरेनियम प्रशोधनको स्तर बढाउन थालेको थियो। साथै उसले ३.६७ प्रतिशतको सीमाभन्दा माथि प्रशोधन गर्न थालेको कुरा खुला रूपमा स्वीकार गरेको थियो ।
अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका अनुसार सन् २०२५ को जुनसम्म इरानले ६० प्रतिशतसम्म युरेनियम प्रशोधन गरिरहेको थियो । इरानसँग ६० प्रतिशत प्रशोधित युरेनियमको करिब ४०० किलोग्राम मौज्दात रहेको पनि उल्लेख गरिएको छ । यो स्तर परमाणु हतियार निर्माणका लागि आवश्यक ९० प्रतिशतभन्दा कम भए पनि नागरिक प्रयोजनका लागि आवश्यक स्तरभन्दा निकै बढी मानिन्छ ।
Shares