बाढीपीडित किसानको साथमा शिखर इन्स्योरेन्स
काठमाडौं । भदौं१० गते आएको विनाशकारी बाढीका कारण पशुधन गुमाएका किसानलाई शिखर इन्स्योरेन्सले बीमा दाबी रकम भुक्तानी गर्न थालेको छ। बाढीबाट प्रभावित बीमित किसानलाई विपद्को समयमा राहत पुग्ने गरी कम्पनीले दाबी प्रक्रिया अघि बढाउँदै समयमै रकम उपलब्ध गराउन थालेको हो। बाढीपीडित किसानलाई आवश्यक सहयोग गर्दै उनीहरूको पीडामा साथ दिने उद्देश्यले शिखर इन्स्योरेन्सले दाबी भुक्तानीलाई प्राथमिकतामा राखेको जनाएको छ। कम्पनीका अनुसार ग्राहकलाई समयमै सेवा प्रदान गर्नु, कार्यालयको दायित्व पूरा गर्नुका साथै विपद्को समयमा आवश्यक कागजी प्रक्रिया पूरा गर्न विशेष सहयोग गरिएको छ।
बीमा दाबी भुक्तानीलाई सहज बनाउन शिखर इन्स्योरेन्सको केन्द्रीय कार्यालयले बाढीपीडितप्रति विशेष चासो देखाएको थियो। त्यस्तै, सम्बन्धित वडा कार्यालय तथा जिल्ला प्रशासन कार्यालयबाट आवश्यक सिफारिस समयमै उपलब्ध हुनु र कर्मचारीहरूको सक्रिय कार्यसम्पादनका कारण दाबी प्रक्रिया छिटो अघि बढाउन सहयोग पुगेको कम्पनीले जनाएको छ।
बाढीका कारण आर्थिक तथा भावनात्मक रूपमा ठूलो क्षति व्यहोरेका किसानका लागि बीमा दाबी रकमले केही राहत पुग्ने अपेक्षा गरिएको छ। विपद्को समयमा ग्राहकलाई आवश्यक सहयोग र सेवा प्रदान गर्दै शिखर इन्स्योरेन्सले “दुःख पर्दाको साथी” भन्ने आफ्नो प्रतिबद्धतालाई व्यवहारमा उतार्ने प्रयास गरेको छ।
Shares