नेपाल एसबीआई बैंकको नाफा १०.१० प्रतशतले बढ्यो
काठमाडौँ। नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आकर्षक वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा, निक्षेप संकलन, कर्जा लगानी तथा कुल सम्पत्तिमा वृद्धि भएको हो।
गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा ५० करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा नाफा बढाएर ५५ करोड २२ लाख रुपैयाँ पुर्याएको हो। बैंकको खुद नाफा १०.१० प्रतिशतले वृद्धि भएको छ।
बैंकको ब्याज आम्दानीतर्फ भने केही दबाब देखिएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब २६ करोड १७ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी १ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी थियो।
बैंकले समीक्षा अवधिमा शुल्क तथा कमिसनबाट ३६ करोड ७० लाख रुपैयाँ खुद आम्दानी गरेको छ। त्यस्तै, धितोपत्र तथा अन्य कारोबारबाट ११ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको छ। यी आम्दानीसमेत जोड्दा बैंकको कुल सञ्चालन आम्दानी १ अर्ब ७६ करोड ५८ लाख रुपैयाँ पुगेको छ।
बैंकको सञ्चालन नाफा ७८ करोड ३४ लाख रुपैयाँ रहेको छ। त्यस्तै, करअघिको नाफा ७८ करोड ८८ लाख रुपैयाँ पुगेको छ।
निक्षेप संकलनमा बैंकले उल्लेख्य विस्तार गरेको छ। असोज मसान्तसम्म बैंकले ग्राहकबाट २ खर्ब ३९ अर्ब ५२ करोड १३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। गत आर्थिक वर्षको अन्त्यमा यस्तो निक्षेप २ खर्ब १२ अर्ब ८२ करोड ६४ लाख रुपैयाँ रहेको थियो।
त्यस्तै, बैंकले ग्राहकलाई १ खर्ब ५० अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत आर्थिक वर्षको अन्त्यमा यस्तो कर्जा १ खर्ब ४६ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो।
त्यस्तै, पहिलो त्रैमासको अन्त्यमा खराब कर्जाको अनुपात ३.१९ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ३.०१ प्रतिशत थियो।
बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी १९ रुपैयाँ ४१ पैसा पुगेको छ। प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ६६ पैसा रहेको छ।
Shares