मलेखु–मुग्लिन सडक खुलाउन १० मेसिन परिचालन, भोलि बिहानसम्म यातायात सुचारु गर्ने तयारी

अर्थकागज
प्रकाशित: १० असोज २०८३
Image description

धादिङ । पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडकखण्ड खुलाउन १० वटा मेसिन परिचालन गरी पहिरो हटाउने काम भइरहेको छ । नागढुंगा–मुग्लिन सडक योजनाका अनुसार भोलि बिहानसम्म यातायात सञ्चालन गर्ने तयारी गरिएको छ ।

असोज ८ गतेदेखि परेको अविरल वर्षाका कारण मलेखु–मुग्लिन सडकखण्डमा १० स्थानमा पहिरो गएको थियो । पहिरोका कारण केही स्थानमा सडक एकतर्फी सञ्चालनमा रहे पनि केही स्थानमा भने दुवैतर्फको आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ ।

शीलतबजारमा चट्टानको पछिल्लो भागबाट लेदो र रुखसहित पहिरो खस्नुका साथै सडकको छेउ केही भासिएको छ। गोमती खोलामा पनि लेदोसहित पहिरो खसेको छ। दुवै स्थानमा सडक एकतर्फी सञ्चालनमा रहेको छ।

कृष्णभीरमा लेदोसहित पहिरो खसेर सडक दुवैतर्फ अवरुद्ध भएको थियो भने ज्यामिरेघाट–चौकीभीरमा ढुंगा र लेदोसहितको पहिरोका कारण आवागमन रोकिएको थियो। हुग्दी खोलादेखि जवाङ खोलासम्मको करिब तीन किलोमिटर क्षेत्रमा आधा दर्जनभन्दा बढी स्थानमा ढुंगासहित पहिरो खसेको थियो ।

फिस्लिङ क्षेत्रमा तीन स्थानमा गरी २०० मिटरभन्दा बढी सडकमा ठूला ढुंगा, लेदो र रुखसहित पहिरो खसेको थियो। सोही क्षेत्रमा सडकको आधा भाग करिब ३० मिटर चर्किएको तथा दबिएको छ ।

चुम्लिङटारमा सडक एकतर्फी सञ्चालनमा रहेको छ। धारापानीमा करिब ५० मिटर सडकको आधा भाग भत्किएको छ भने भरिएको कल्भर्ट खुलाउने काम भइरहेको छ। घोप्टेभीर र सिमलधारामा ठूला ढुंगा, लेदो तथा माटोसहित पहिरो खसेर दुवैतर्फको आवागमन अवरुद्ध भएको थियो ।

सडक योजनाले अवरुद्ध सडक खुलाउन आवश्यक मेसिन तथा उपकरण परिचालन गरिएको जनाएको छ। सकेसम्म भोलि बिहानसम्म सडकमा यातायात सञ्चालन गर्ने तयारी भइरहेको योजनाको भनाइ छ । हाल सडकखण्डमा पहिरो हटाउने काम भइरहेकाले यात्रुलाई अवस्था सामान्य नभएसम्म उक्त सडकखण्डमा यात्रा नगर्न आग्रह गरिएको छ ।



प्रतिक्रियाहरू

सम्बन्धित खबर