काठमाडौंका १६९ सार्वजनिक शौचालयमध्ये १४ वटा बन्द, ९ प्रतिशत मात्रै अपाङ्गमैत्री

अर्थकागज
प्रकाशित: ०४ मंसिर २०८३
Image description

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका सार्वजनिक शौचालयको अवस्था कमजोर देखिएको छ । महानगरपालिकाको सहरी योजना आयोगले गरेको अध्ययनअनुसार १६९ सार्वजनिक शौचालयमध्ये ११३ वटा अर्थात् ६७ प्रतिशत मात्रै नियमित सञ्चालनमा छन् भने १४ वटा बन्द अवस्थामा रहेका छन् ।

अध्ययनअनुसार नौवटा शौचालय आंशिक रूपमा सञ्चालनमा छन् भने १० वटा निर्माणाधीन अवस्थामा छन् । दुईवटा प्रयोग गर्न अयोग्य रहेका छन् भने २१ वटाको सञ्चालन अवस्था स्पष्ट हुन सकेको छैन ।

शौचालयको सुविधातर्फ हेर्दा ९८ वटामा महिला र पुरुषका लागि छुट्टाछुट्टै व्यवस्था छ । अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त सुविधा भएका शौचालय १५ वटा अर्थात् ९ प्रतिशत मात्रै छन् । महिनावारी स्वच्छता व्यवस्थापनका लागि आवश्यक सुविधा ३२ वटा अर्थात् १९ प्रतिशत शौचालयमा मात्रै उपलब्ध रहेको अध्ययनले देखाएको छ ।

भौतिक अवस्थाको विश्लेषण गर्दा ४६ वटा शौचालय मात्रै राम्रो अवस्थामा छन् । ५३ वटामा सामान्य मर्मत आवश्यक छ भने ३३ वटामा ठूलो मर्मत वा स्तरोन्नति गर्नुपर्ने देखिएको छ । नियमित पानी उपलब्ध हुने शौचालय ११३ वटा भए पनि राम्रो सरसफाइ भएका शौचालयको संख्या ३६ अर्थात् २१ प्रतिशत मात्रै छ। त्यस्तै, ७९ वटा शौचालय निःशुल्क सञ्चालनमा छन् ।

अध्ययन प्रतिवेदनबारे जानकारी लिएपछि महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक शौचालयलाई नागरिकको अनिवार्य र आधारभूत सेवाका रूपमा विकास गर्न निर्देशन दिएकी छन् । उनले शौचालयलाई स्वच्छ, सुरक्षित, महिलामैत्री, बालमैत्री, अपाङ्गमैत्री र सबै नागरिकको पहुँचयोग्य बनाउनुपर्नेमा जोड दिएकी छन् ।

अध्ययनले नयाँ शौचालय निर्माणभन्दा पनि भएका संरचनाको मर्मत, स्तरोन्नति र नियमित सञ्चालनलाई प्राथमिकता दिन सुझाव दिएको छ । असन र न्युरोडजस्ता घना बजार क्षेत्रमा निजी घर, पसल तथा संस्थाका उपयुक्त शौचालयलाई सम्झौतामार्फत सार्वजनिक प्रयोगमा ल्याउन पनि सुझाव दिइएको छ । महानगरपालिकाले तत्कालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाएर सुधारका काम अघि बढाउने जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर