अमेरिकामा हवाई सेवा संकट कायमै, सयौं उडान प्रभावित

अर्थकागज
प्रकाशित: २९ कात्तिक २०८३
Image description

काठमाडौं । अमेरिकामा हवाई यातायात प्रणालीमा आएको प्राविधिक समस्याका कारण उडान सेवा प्रभावित हुने क्रम जारी रहेको छ । शुक्रबारदेखि सुरु भएको संकटका कारण २० हजारभन्दा बढी उडान रद्द तथा ढिलाइ भएका छन् भने हजारौँ यात्रु विमानस्थलमै अलपत्र परेका छन् ।अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) को हवाई यातायात सञ्चार प्रणालीमा आएको खराबीका कारण शुक्रबार देशभर करिब पाँच घण्टा उडान रोकिएको थियो । शनिबारसम्म ६ हजार १५० भन्दा बढी उडान रद्द र ७ हजार ३०० भन्दा बढी उडान ढिलाइ भएका थिए । आइतबारका लागि निर्धारित ५३० भन्दा बढी उडानसमेत रद्द गरिएको छ ।

अमेरिकी अधिकारीहरूका अनुसार सरकारी ठेकेदार कम्पनी एलथ्री ह्यारिसले सञ्चार प्रणालीमा पुराना तामाका तारलाई आधुनिक फाइबर अप्टिक प्रणालीले प्रतिस्थापन गर्ने क्रममा जडान गरेको राउटरमा समस्या आएको आशङ्का गरिएको छ । उक्त राउटरले प्रत्येक चारदेखि पाँच सेकेन्डमा एक हजारभन्दा बढी पटक सम्पर्क प्रयास गर्दा हवाई सञ्चार र राडार सूचनामा असर परेको बताइएको छ ।

यातायातमन्त्री सिन डफीले प्राविधिक समस्याको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान भइरहेको बताएका छन् । एफएएका प्रमुख ब्रायन बेडफोर्डले आइतबार रातिसम्म उडान सेवा पूर्ण रूपमा सामान्य हुने सम्भावना कम रहेको जनाउँदै यात्रुसँग माफी मागेका छन् ।

यस घटनाले अमेरिकाको पुरानो हवाई यातायात सञ्चार प्रणालीको कमजोरीसमेत उजागर गरेको छ । अधिकारीहरूले आइतबार रातिसम्म अधिकांश उडान सेवा सामान्य अवस्थामा फर्कने अपेक्षा गरे पनि त्यसको सुनिश्चितता भइसकेको छैन ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर